काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा देखिएको हिंसा, आगजनी र लुटपाटको तीव्र आलोचना गरेका छन्।

शनिबार झापामा आयोजित नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्दै उनले प्रदर्शनकारीहरूमाथि व्यंग्यात्मक कटाक्ष गर्दै पशुपतिका बाँदरसमेत तीभन्दा उपयुक्त मन्त्री हुने टिप्पणी गरे।

‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे?’ प्रधानमन्त्री ओलीले भने, ’आगजनी, तोडफोड, ढुंगामुढा, पसल लुटपाट, रक्सीका बोतल चोर्ने, स्याउ चोर्ने, औषधि कारखाना जलाउने यस्ता गतिविधि देखियो। के यिनले बनाउने हो देश?’

राजावादीहरूको आन्दोलनप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले जनतालाई भड्काएर राजतन्त्र पुनःस्थापना गर्ने सपना देख्नेहरू भ्रममा रहेको बताए। ‘राजा फर्काउने अरे, राजा फर्केपछि प्रधानमन्त्री, मन्त्री बन्ने अरे,’ उनले व्यंग्य गर्दै थपे, ‘तिनीहरूलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले हिंसा, तोडफोड, आगजनी र हत्या अब कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी पनि दिए।  ‘देश संविधान र कानुन अनुसार अगाडि बढ्छ,’ उनले स्पष्ट पारे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले सधैं देशको हितमा सकारात्मक काम गरेको दाबी गर्दै अराजक गतिविधिहरूको विरुद्धमा जनतालाई एकजुट हुन आह्वान गरे।