काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् ।
राष्ट्रपति पौडेलले अन्समिल मिसन लिबिया जाने नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जाको प्रि-डिप्लोमेन्ट तालिम समापनमा काभ्रेको पाँचखालमा आयोजित कार्यक्रममा बिहीबार यस्तो बताएका हुन् ।
‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु,’ उनले भने । सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यमा भाग लिँदै अन्तर्राष्ट्रियजगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए ।
राष्ट्रपति पौडेलले सेना र सुरक्षा निकायलाई विश्वले ठुलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए । सेनाको उच्च अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पूरा भएको स्मरणपनि गरे । उनले हालसम्म नेपाली सेनाका करिब १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रर्दशन गरिसक्नु खुसीको विषय भएको बताए ।
हाल विभिन्न ११ मिसनमा करिब ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरूमध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको राष्ट्रपति पौडेलको भनाइ छ ।
राष्ट्रपति पौडेलले हालको बदलिँदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटी जानेहरु जानकार भएको उल्लेख गरे । अन्समिल मिसन लिबियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रुपले तयार रहेको कुरामा विश्वास व्यक्त गरे । त्यस अवसरमा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्वतयारीसम्बन्धी प्रस्तुति अवलोकनसमेत गरेका थिए ।


0 comment