काठमाडौं - नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीहरूले विधेयक जुनसुकै हालतमा पनि यही हिउँदे अधिवेशनबाट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसबाट देशभरका पालिकामा जितेका मेयर/उपमेयर र पालिका अध्यक्ष तथा उपाध्यक्षसँग केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले विधेयकका विषयमा विमर्श गरेको हो । विभागले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विमर्श गरिएको महरले बताए ।
‘स्थानीय प्रतिनिधिहरूको धारणा केछ, विद्यालय शिक्षा विधेयकमा के सुधार गर्नुपर्ने छ र कांग्रेसबाट विधेयकका विषयमा बोक्नुपर्ने एजेन्डा के-के हुन् भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरेका छौं । उहाँहरू सबैले शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन जसरी पनि शिक्षा विधेयक ल्याउनुपर्नेमा जोड दिनुभएको छ,’ महरले भने ।
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला आफूहरूको नीति र प्राथमिकतामा पनि रुपान्तरण आवश्यक रहेको उनले बताए । ‘राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी छ,’ महरले भने ।
छलफलमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।
राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाइ छ । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए ।
त्यस्तै उनले नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने धारणा राखे । अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने बताए ।
कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि निरन्तर छलफल गरिरहेको छ । विभागले पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग छलफल गरेको थियो । दोस्रो चरणमा सरोकारवालासँग पार्टी मुख्यालय सानेपामा छलफल गरेको थियो ।


0 comment