काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकका जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले शिक्षकहरूप्रति आभार प्रकट गर्दै संवादका माध्यमबाट समाधान खोजिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले सरकार शिक्षक विरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नरहेको बताए। उनले भने, ‘हामी उहाँहरूका कुरा सुन्छौँ, छलफल गर्छौँ। सरकार र शिक्षक दुबै एउटै तर्फका हौं। समस्या परस्पर संवादबाट टुङ्ग्याइन्छ।’
उनका अनुसार सरकारले शिक्षकका मागप्रति सकारात्मक दृष्टिकोण राखेको छ र त्यसलाई सम्बोधन गर्न तत्पर रहेको छ।
प्रधानमन्त्री ओलीले शिक्षकहरू सरकारप्रति विश्वास गरेर आन्दोलनमा आएकोप्रति धन्यवाद व्यक्त गरे। उनले विगतको सरकारले आवाज नसुनेका कारण आन्दोलन नगरेको तर अहिले सरकारप्रति विश्वास भएकाले आवाज उठाइएको बताएका छन्।
‘अब सरकारले सुन्छ भन्ने विश्वासका साथ शिक्षकहरू आन्दोलनमा आउनुभएको हो,उनले भने, ‘यो विश्वासको लागि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।’ उनले शिक्षकहरूलाई आन्दोलनको दुःख नगरी संवादमार्फत समाधान खोज्न आग्रह गरे।


0 comment