काठमाडौं - मधेस केन्द्रित सात दलले संघीय लोकतन्त्रिक मोर्चा घोषणा गरेका छन्। काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्यांक्वेटमा बिहीबार कार्यक्रम गरी उनीहरुले मोर्चाको घोषणा गरेका हुन्।
सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरूले मोर्चा गठन गरेका हुन् । यसअघि माघ १८ गते सात दलले मोर्चाबन्दीका लागि कार्यदल गठन गरेका थिए।
मोर्चाले नेपालको संविधान अपूर्ण, अधुरो, विभेदकारी र त्रुटिपूर्ण रहेकोले सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने गरी समयसांपेक्ष रुपमा संशोधन एवं परिमार्जन गर्न प्रयत्न गर्ने भएको छ ।
यस्तै मुलुकमा विद्यमान रहेका अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र र विचौलियातन्त्र जस्ता विकृति र विसंगतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउनका लागि जनजागरण तथा दबावमूलक कार्यक्रम अगाडि बढाउने पनि मोर्चाले निर्णय गरेको छ ।
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गराउन पनि मोर्चाले दबाब दिने भएको छ ।मधेस केन्द्रित सात दलमा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन्।


0 comment