काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि अर्को गल्ती गरेमा भोग्न बाँकी केही नरहने चेतावनी दिएका छन्।
समाजवादी मोर्चाले आयोजना गरेको प्रदर्शनपछि काठमाडौंको भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले पूर्वराजा शाह पुनः राजतन्त्र फर्काउने गतिविधिमा संलग्न रहेको आरोप लगाए। उनले पहिलो गल्तीस्वरूप निरंकुश शासन लादेकै कारण राजतन्त्र अन्त्य भएको र यदि अर्को गल्ती भएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने बताए।
प्रचण्डले राजतन्त्र इतिहास भइसकेको उल्लेख गर्दै इतिहासलाई पछाडि फर्काउने कुनै पनि दुस्साहसलाई नेपाली जनताले परास्त गर्ने दाबी गरे। ‘पूर्वराजा फर्किन खोजे त्यो अर्को गल्ती हुनेछ,’ उनले भने, ‘ जसका कारण उनीहरूले भोग्न बाँकी केही नरहनेछ। युद्ध र आन्दोलनबाट खारिएका जनता, सामन्ती सत्ताबाट दमनमा परेका नेपाली जनता, दलित, महिला, मधेसी, आदिवासी-जनजाति सबै प्रतिवादमा उत्रनेछन्।’
उनले आफूहरूका केही कमजोरीका कारण जनतामा निराशा बढेको स्वीकार्दै तिनको आत्मसमीक्षा गरेर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौंकै तीनकुनेमा राजावादी प्रदर्शनकारीले गरेको तोडफोडको घटनालाई इंगित गर्दै प्रचण्डले भने, ‘हामीभित्र लागेको धुलो टकटकाउँदै अघि बढ्छौँ। जनतामा गएर विशाल समर्थन लिएर आउँछौँ। तर, मण्डले गुण्डागर्दीलाई छुट दिने छैनौँ।’
राजतन्त्रलाई सामन्ती अवशेषको संज्ञा दिँदै उनले सडकबाटै प्रतिरोध गर्ने चेतावनी दिए। ‘माओवादी जनयुद्धको कमाण्डरको हैसियतले अहिले शान्तिपूर्ण क्रान्ति जरुरी छ,’ उनले भने, ‘उनीहरूले एक लाख ल्याए, हामी एक करोड ल्याएर सडकबाटै जवाफ दिन्छौँ।’


0 comment