काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कुलमान घिसिङलाई हटाउन ओलीले जालझेल गरेको भन्दै त्यसबारे जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै अध्यक्ष दाहालले ओलीबाट आफू पटकपटक जालझेल र षड्यन्त्रको सिकार भएको पनि जनाए ।

‘अब प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । स्पष्टीकरण चित्तबुझ्दो भयो, तुरुन्तै हाउस चल्छ,’ उनले भने, ‘स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’

सिंहदरबार गएर टीआरसीबारे टुंगो लगाएकै दिन ओलीबाट फेरि एकपटक ठुलो जालझेल भएको उनको भनाइ थियो । दाहालले टीआरसीको विषयमा सिंहदरबारमा शीर्ष नेतासहितको छलफलमा के भएको थियो भन्नेबारे विस्तृतमा जानकारी पनि गराए ।

त्यस्तै उनले आफूमाथि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएको आरोपको खण्डन गर्दै टीआरसीसँग कुलमान साट्यो भन्नु झुटो, बेइमानीपूर्ण र अपराधिक प्रचार भएको दाबी गरे ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहाललगायत नेता बसेर आइतबार टीआरसीमा सहमति जुटाएका थिए ।

गत असार १७ गते बिहान कांग्रेससँग सहमति गर्नुअघि ओलीले त्यसबेला प्रधानमन्त्रीको पदमा रहेका दाहाललाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर ढुक्क पारेको भन्दै पत्रकारसामु उनले कुलमान बर्खास्त प्रकरणको स्मरण गरे ।