काठमाडौं - प्रधानमन्त्री केपी ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा) को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै एक व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख गरे ।
‘सबै नेपालीका पुर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,’ उनले भने, ‘अबको युग त्यसमा फर्कन सक्दैन । त्यस्तो भ्रमका पछाडि कोही नपर्दा हुन्छ ।’
प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै देश र जनताको हितको सबैले इमानदारीसाथ काम गर्नुपर्नेमा जोड दिए । उनले लोकार्पित आत्मकथाबाट पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेतृ सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे ।
समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचढावको सम्बन्ध रहेको स्मरण गरेका थिए ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्तिप्रक्रियामा ल्ययाउन पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पुर्याएको योदानको चर्चा गरेका थिए ।


0 comment