काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले घिसिङलाई पदमुक्त गरेको निर्णयबारे पनि जानकारी गराएका हुन्। उनै मन्त्री हुन् जसले हिजो त्यसबारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै उल्टै पत्रकारलाई  हटाउने कुरा कसले भन्यो कुलमानले ? भनि प्रश्न गरेका थिए।

कुलमानको पक्षमा सडकमा मान्छे निस्केकोबारेमा मन्त्री गुरुङले भने, ‘लोकतन्त्रमा मान्छे सडकमा निस्किन पाइन्छ र निस्किन्छन् पनि।’उनले कुलमानसँगको निर्णय सुशासनसँग जोडिएको पनि बताए।

सोमबारको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्य (ललितपुर) लाई नियुक्त गर्ने निर्णय गरेको थियो ।