काठमाडौं - संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गरिने भएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच सोमबार सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठित गरिएको थियो । त्यस समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । दुई महिना लामो दौडधुपपछि पनि नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति र सर्च कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भएको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए । त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए ।


0 comment