काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकार परिवर्तनको हल्लाबीच भारतप्रति आक्रामक र कट्टर दृष्टिकोण प्रकट गरेका छन् । उनले भारतीय जासुसी गतिविधिको खुलासा गर्दै, आफूलाई पदबाट हटाउने भारतीय चलखेलको चुनौतीको सामना गर्ने चेतावनी दिएका छन् ।
ओलीले दमकदेखि काठमाडौंसम्म भारतीय जासूसहरूको परिचालन भएको समेत बताएका छन् । उनले भने, ‘म सबै कुरा संसदमा उजागर गर्नेछु ।’ प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकिरहेको देखिँदैन ।
ओलीले गत फागुन २५ गते भएको राजतन्त्र पुनःस्थापना पक्षधरको आन्दोलनमा भारतीय सहयोग रहेको बुझेका छन् । यसर्थ अध्यक्ष ओली पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई निस्तेज पार्नका लागि गिरफ्तारीसम्म जाने पक्षमा रहेको बुझिन्छ । उसो त माओवादी अध्यक्ष प्रचण्ड पनि गणतन्त्रविरुद्ध लाग्ने पूर्वराजालाई गिरफ्तारी गर्नुपर्ने पक्षमा छन् ।
पछिल्लो समय सक्रिय देखिएका पूर्वराजाको गतिविधिप्रति प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी दल नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आपत्ति जनाउँदै आएका छन् ।


0 comment