काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रलाई ‘भूत र भ्रम’ भन्दै लोकतन्त्रलाई सुरक्षित राख्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
पार्टीको प्रथम महाधिवेशनअन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा सहभागी हुनुअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले वर्तमान राजनीति, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे धारणा राखेका थिए।
भट्टराईले मधेसजस्ता उत्पीडित क्षेत्रहरू अब सचेत भइसकेकाले त्यहाँका जनतालाई फेरि छलकपट गर्न नसकिने बताए। ‘हामी पछाडि फर्किने कुरा हुँदैन। राजतन्त्र भूत हो, भ्रम मात्र हो,’उनले भने, ‘यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग कुनै सम्बन्ध छैन।’
उनले राजा र राणाकालमा अहिलेको भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको दाबी गर्दै त्यतिबेला गलत कामहरू जनतासम्म पुग्नै नदिइएको बताए।
भट्टराईले शिक्षा र चेतनाको अभावकै कारण विगतमा राजतन्त्र टिके पनि अहिले जनता सचेत भइसकेको बताए। ‘अहिले जनता पढ्न-लेख्न पाएका छन्। केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ। तर, राजाहरूले आफ्नै सत्ता जोगाउन खोलिएका विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो,’ उनले भने।
उनले लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको भन्दै लोकतन्त्रलाई मजबुत बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरे।


0 comment