काठमाडौं - रक्षामन्त्री मानवीर राईले गोकर्ण वन क्षेत्रभित्र रहेको दक्षिणढोका–मूलपानी सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

गोकर्णेश्वर नगरपालिका–४ अन्तर्गत नेपाल ट्रष्टको स्वामित्वमा रहेको वन क्षेत्रमा निरीक्षण गरेपछि उनले स्थानीयवासीको माग सम्बोधन गर्न सक्दो सहयोग गर्ने बताएका हुन्। नगरपालिकाले लामो समयदेखि पर्खालभित्रको यो सडक खोल्न आग्रह गर्दै आएको छ।

स्थानीयका अनुसार सडक अवरुद्ध हुँदा गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिणढोका र मूलपानी आवतजावत गर्न कठिनाइ हुँदै आएको छ। पर्खाल भत्किएको केही स्थानमा काँडेतार लगाएर बाटो बन्द गरिएको छ। यसै कारण वाग्मती करिडोर पनि सञ्चालनमा आउन सकेको छैन। सडक खुलेमा गोकर्ण ड्याम क्षेत्रमा हुने ट्राफिक जाम कम हुने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए।

प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठका अनुसार एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी यो विषयमा छलफल गरिएको थियो। प्रधानमन्त्रीले पनि सडक खोल्न पहल गर्ने आश्वासन दिएका थिए।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, पूर्व संविधानसभा सदस्य रामेश्वर फुयाँल, विभिन्न वडाध्यक्ष तथा स्थानीय प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर सडक खुलाउन जोड दिएका थिए। 

केही दिन अघि काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले पनि उक्त सडक खोल्नका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल ट्रष्टको स्वामित्वमा रहेको वन क्षेत्रको सय मिटर पर्खाल भत्काएर बाटो छिचोल्न नसक्दा बागमती करिडोरमा यातायात असहज भएको बताएका थिए ।