काठमाडौं - प्रमुख सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै, मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल नहुने ठहर गरेको छ।

पार्टीको सचिवालयको सोमबारको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको सात दशक लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रयास निरर्थक र हानिकारक हुने बताए।

उनले २१औं शताब्दीतिर पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हाँस्यास्पद र निरर्थक रहेको जनाउँदै  संविधानको प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थिरता सुनिश्चित गर्न एमाले प्रतिबद्ध रहेको जिकिर गरे।

एमालेले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएको छ। साथै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको २८ नयाँ सदस्यको नाम पनि अनुमोदन गरिएको जनाएको छ।