काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र पक्षधरहरूले जनतासँग आफ्नो सम्पर्क बलियो बनाउन आवश्यक रहेको बताए।

‘हामीले महसुस गरेको कुरा के हो भने, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने, ‘विगतमा भएका त्रुटिहरू सुधार्दै अघि बढ्नुपर्छ। जनतासँग प्रत्यक्ष संवाद गर्न आवश्यक छ।’

प्रचण्डले समाजवादी मोर्चा सरकारमा जाने टेकोका रूपमा निर्माण गरिएको होइन भन्ने स्पष्ट पारे। उनले मोर्चा फागुन २५ गतेको राजावादी प्रदर्शनपछि मात्र सक्रिय बनाइएको आरोप असत्य भएको दाबी गरे।

‘समाजवादी मोर्चा कुनै रियाक्सन वा कम्पनको जवाफ होइन,’ प्रचण्डले भने, ‘हामीले यो मोर्चा राम्रो सोच र योजनासहित बनाएका हौं। फागुन २५ पछि मात्र बनेको भन्ने गलत हो।’

उनले गणतन्त्र पक्षधरहरूबीच संवाद भइरहे पनि सरकार विपक्षी दलहरूलाई अघि बढ्न सघाउन अनिच्छुक रहेको बताए। ‘सरकारमा भएका वा नभएकासँग छलफल भइरहेको छ, तर सरकारले विपक्षी दलहरूको भूमिका सुदृढ गर्न आवश्यक पहल नगरेको देखिन्छ,’ उनले भने। प्रचण्डले समाजवादी मोर्चा जनताको आवाज सुन्ने, त्रुटिहरू सुधार्ने र भविष्यको बाटो तय गर्ने मञ्च भएको दाबी समेत गरे।