काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रममा उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि महसुस हुनेगरी जनताको जीवनस्तरमा रुपान्तरण हुन सकेको छैन ।’  जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उनको अभिमत थियो ।

शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीलगायत संविधानप्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उनले व्यक्त गरे ।

शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उनले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्वपूर्ण हुने बताए ।