काठमाडौं - समाजवादी मोर्चा नेपालले सरकारको गतिहीनताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा चुनौती देखिएको जनाएको छ । मोर्चाले काठमाडौंमा शनिबार पत्रकार सम्मेलनमार्फत सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश बढ्दै गएको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखापरेको जनाएको हो ।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि यही चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको जनसभा आयोजना गर्ने तयारी गरेको पनि जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवद्वारा जारी संयुक्त वक्तव्यमा सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको आरोप लगाइएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरु लागिपरेका छन्,’ ४ बुँदे वक्तव्यमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ।’


0 comment