काठमाडौं - प्रधानमन्त्री केपी ओलीले एउटा जुलुस निकाल्न पनि विदेशीको तस्बिर राख्नुपर्ने भन्दै राजावादीहरुलाई प्रश्न गरेका छन् । गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
राजतन्त्र पक्षधरले आइतबार काठमाडौंमा गरेको प्रदर्शनप्रति लक्षित गर्दै उनले भने, ‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं ।’
यस्तै कार्यक्रममा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरे । उनले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे ।


0 comment