काठमाडौं - राष्ट्रियसभा सदस्य गोमादेवी तिमिल्सिनाले उदयपुर सिमेन्ट उद्योग यथाशिघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाइन् ।
समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको भन्दै त्यसप्रति उनले चिन्ता व्यक्त गरिन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताइन् ।
‘समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन्, उनले भनिन्,‘लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनका लागि आग्रह गर्न चाहन्छु ।’
उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


0 comment