काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फसेको आरोप लगाएका छन् ।
पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गरे । उनले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताए।
मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उनले बताए । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उनले बताए ।
तराई मधेसका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष दाहालले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राखे । विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उनको भनाइ छ । तराई मधेसका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उनले बताए । यस यात्रा बहुआयामिक उद्देश्यले हिँडेको अध्यक्ष दाहालले उल्लेख गरे ।


0 comment