काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन्। वीरगञ्जको लालबगलामा शनिबार आयोजित कार्यक्रममा उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि आएका प्रतिक्रियाहरूप्रति कटाक्ष गरेका हुन्। शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको भन्दै राजसंस्थाको पुनर्स्थापनाको आवश्यकता रहेको बताएका थिए।
पूर्वराजाको सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवा लगायतका नेताहरूले उनलाई पार्टी खोलेर निर्वाचन लड्न चुनौती दिएका थिए।
यही प्रसंगलाई इंगित गर्दै अध्यक्ष लिङ्देनले भने, ‘राजाले चुनाव लड्ने होइन, तपाईंहरूसँग चुनाव लड्न हामी जस्ता मानिसहरू पर्याप्त छौँ। हामीले स्थापित गर्न खोजेको राजा राजनीतिक दलको होइन, देशको राजा हो।’
लिङ्देनले विगतका सरकारहरूले उद्योग–धन्दा बेचेर देशलाई कमजोर बनाएको र भ्रष्टाचारमात्रै बढाएको आरोप लगाए। उनले भने, ‘राजाले रोजगारी दिन उद्योग खोलेका थिए, तिनलाई बन्द गरेर देशको अर्थतन्त्र ध्वस्त पारियो।’
साथै, देशको आर्थिक अवस्था चिन्ताजनक बनेको बताउँदै उनले राजस्वले राष्ट्रसेवक कर्मचारीको तलब भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे। हाल देशको आन्तरिक र बाह्य ऋण २६ खर्ब नाघेको तथ्यांक प्रस्तुत गर्दै लिङ्देनले नेताहरूको असक्षमताका कारण देश विदेशी ऋणमा निर्भर हुन पुगेको बताए।


0 comment