काठमाडौं — राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो प्रथम स्थापना दिवसको दिन कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  सडकमा नाराबाजी गर्दै झण्डा र प्लेकार्डसहित पार्टीका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरे । 


विरोध प्रदर्शनका क्रममा पार्टी अध्यक्ष रामशरण पाण्डेले सडकमा बनाइएको नेपालको नक्सालाई कुशासन र भ्रष्टाचारको प्रतीक भन्दै झाडु–कुचो लगाएर सफा गरेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय व्यवस्थालाई कुशासन, भ्रष्टाचार र बेथितिको मूल जडको रुपमा उल्लेख गरे । यो व्यवस्था परिवर्तन नगरी नेपाली जनताको अवस्था यो भन्दा दयनीय हुने ठोकुवा गरे । विदेशी शक्तिको आडमा बनेको वर्तमान ओली सरकार त्यही व्यवस्थाको मतियार भएको आरोप लगाउँदै उनले भने, ‘देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने पक्का भएको हुनाले यो व्यवस्था जसरीपनि मिल्काउनु पर्ने उनको भनाइ थियो । त्यसैगरी पार्टीका वरिष्ठ नेता केबी लिम्बुले मातृभूमि जन–जागरण अभियानलाई निकट भविष्यमा निर्णायक सङ्घर्षमा परिणत गरिने घोषणा गरे । उपाध्यक्ष तथा अर्थविद् टुलराज बस्यालले सरकारको गलत नीतिका कारण वैदेशिक ऋण थुप्रिँदै गएको र भ्रष्टाचार बढ्दै गएको बताउँदै यसको विकल्प खोज्नुपर्ने भन्दै यो व्यवस्था नै समस्याको जड भएको उनको भनाई थियो । 


पार्टी महासचिव गोविन्द गिरीले देशको गौरवशाली इतिहासलाई पछिल्ला शासकहरूले धुमिल बनाएको आरोप लगाउदै जसरी भएपनि जनतालाई यो व्यवस्थाको बेथिती बुझाएरै छोडने उद्घोष गरे । राष्ट्रिय मातृभूमि पार्टीले यो आन्दोलनलाई देशैभरी फैलाउने कुरा महासचिवको भनाई थियो । 
संसदीय व्यवस्थाकै कारण देश कुशासन र भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै उनले भने, ‘वीर गोरखाली, सगरमाथा र गौतम बुद्धको देश भनेर चिनिने नेपाल आज भ्रष्ट नेताहरूको कारण अन्तर्राष्ट्रिय रूपमा ठगहरूको मुलुकका रूपमा चित्रित भएको छ । कार्यक्रममा केन्द्रीय नेता भगवती पौडेल र जनकवि भोला बरालले कविता वाचन गरेका थिए । संघीय व्यवस्था परिवर्तन गर्नुपर्ने आवाजहरु पछिल्लो समय सडकमा निकै गुन्जीन थालेको छ ।