काठमाडौं - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले २०८७ सालमा संविधान संशोधन गर्छौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ जनतालाई सोझै झुक्याउने कुरा भएको टिप्पणी गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा केसीले संविधान संशोधनका लागि सर्वदलीय समिति बनाएर अहिल्यैबाट प्रक्रिया थाल्नुपर्ने बताए  ।

संसद भित्र रहेका दलहरु मात्र नभइ संसद बाहिर रहेका दल समेतलाई समेटेर सर्वदलीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने नेता केसीको भनाइ थियो ।

सरकारले ७ बुँदे सहमति अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको र सरकारमा कांग्रेसको उपस्थिति कमजोर देखिएको उनको टिप्पणी थियो ।

उनले संसदको पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको बताए । सांसद केसीले सरकारले ल्याएको भूमिसम्बन्धी र सुशासनसम्बन्धी अध्यादेश आपत्तिजनक रहेकाले फिर्ता हुनुपर्ने बताए ।

केसीले पार्टीको १५ औं महाधिवेशन ०८४ को निर्वाचन अगाडि नै हुनुपर्नेमा जोडदिए । उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने बताए ।