काठमाडौं- गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले रिङ्कु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन् उनीहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाए ।
विसं २०८१ माघ ३० गते सिरहाको नवरापुर गाउँपालिका–१ बस्ने रिङकुकुमारी सदा आफ्नै घरमा झुन्डिएको मृत अवस्थामा फेला परेकी थिइन् । त्यस सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिङ्कु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी परेको छ ।
पञ्चायतीमा सङ्लग्न तीन जनालाई पक्राउ गरी कानुन बमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए । सो घटनाको समबन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ ।
मन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्र रामको अन्तरजातीय विवाह सम्बन्धमा उठेका प्रशनको जवाफ दिँदै सो घटनाको मुद्दामा राज्य पक्षबाट कुनैपनि हस्तक्षेप नभएको बताए ।
अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको जनाउँदै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्भावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील उल्लेख गरे ।
मन्त्री लेखकले आफू वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको उल्लेख गरे । यसै घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा आफूले दलितमाथि हुने विभिन्न प्रकारका भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने प्रतिबद्धता अनुसार कार्य पनि अगाडि बढाएको जानकारी दिए ।


0 comment