काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सिरहाको नवराजपुर गाउँपालिका १, भगवतीपुरस्थित रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका दाहालसहित माओवादी केन्द्रका नेताहरु रिङ्कुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता जनाएका हुन् ।

दाहालले आफ्नो पार्टीले रिङ्कुको न्यायका लागि संसद्‌मा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जानकारी गराएको उल्लेख गर्दै उनले छानबिनलाई चाँडो निष्कर्षमा पुर्याउन प्रहरीलाई आग्रह गरिएको बताए ।

उनले रिङ्कुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यबद्धता जनाए । रिङ्कुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रममा उनले तराई मधेसका विभेद, अपमान र अत्याचारविरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेस जागरण अभियान सञ्चालन गरेको दाबी गर्दै यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए ।

बलात्कारजस्तो जघन्य अपराधमा तत्काल पीडितलाई न्यायका लागि पहल गर्नुको साटो गाउँमै मिलापत्र गराउन खोज्नु राष्ट्रकै लागि लज्जास्पद घटना भएको उल्लेख गर्दै उनले तत्काल पीडितमाथि न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

रिङ्कु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा अनुसन्धान गरिरहेको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो ।  माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।