काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी मन्त्री देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरुलाई यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ यहाँ रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी हुन् ।

समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै देउवाले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्‌को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु ।’

त्यस अवसरमा उनले नेपालले शान्तिप्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्तिप्रक्रियाका बाँकी रहेका कामलाई पनि छिटै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् । परराष्ट्रमन्त्री देउवाले भनिन्, ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत अधिकारलाई मौलिक हकका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ ।’

उनले पछिल्ला समयमा नेपालले बाल, महिला तथा अल्पसंख्यकहरुको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरु हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएको पनि स्पष्ट गरिन् ।

यसअघि मन्त्री डा. देउवाले गत मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । जेनेभामा जारी सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता छ ।

परराष्ट्रमन्त्री देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । उनी भोलि (शुक्रबार) बिहान स्वदेश फर्किने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ ।