काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्ने बताएका छन् ।

जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको बर्जुमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनाइ राखेका हुन् । राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध संघर्षको झण्डा उठाउन अभियान थालिएको दाहालले बताए ।

जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले भौतिक पूर्वाधारको विकासका लागि राज्यको ध्यानाकर्षण गराउन, पार्टीको तर्फबाट गर्न सकिने कामको पहल लिन र मानवीय विकास तथा सचेतनाका लागि पनि यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

पार्टीले उत्पीडित वर्गको पक्षमागरेको बलिदानीपूर्ण आन्दोलनबाट धेरै अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयनमा गति नआएको, आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा थालेको काममा अवरोध गर्न सरकार नै बदलिएको र अहिलेको सरकारले भ्रष्ट, दलाल र बिचौलियाको सेवा गर्नुबाहेक जनताको पक्षमा अरु कुनै काम नगरेकाले जनतालाई सचेत बनाउँदै आफ्नो खबरदारी र जागरणमा अघि बढेको उनले स्पष्ट गरे ।

आफूले सरकारको नेतृत्व गर्दा धेरै मिहिनेत गरेर रासायनिक मलको आपूर्ति सहज गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले फेरि समस्या देखिन थालेको दाबी गरे । आफूले धेरै नै मिहिनेत गरेर विद्यालय शिक्षा विधेयक संसद्‌मा पुर्याइएको उल्लेख गर्दै उनले यसलाई पारित गरेर शैक्षिक क्षेत्र सुधारमा पूरै जोड दिनुपर्ने बताए ।

कार्यक्रममा सुनसरीका कृषि व्यवसायी राधाकृष्ण राई माओवादी केन्द्रमा प्रवेश गरेका थिए । अभियान टोली आज दिनभरि सुनसरीमा रहने दाहालको सचिवालयले जनाएको छ ।