काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई खरिद/बिक्री गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकको मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्थामार्फत व्यवस्थापन गर्न आपसमा खरिद/बिक्री गर्न सकिनेछ । सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद/बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन ।
यसरी रिपर्चेज एरेन्जमेन्टअनुसार कर्जा खरिद-बिक्री गर्दा सो कर्जाबराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ । उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने परिपत्रमा उल्लेख छ ।


0 comment