काठमाडौं - सरकारले श्रम सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ ।
सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ- संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।
अबुधावीदेखि तीन सय किलोमिटर पूर्वमा रहेको उजारेखमा घुम्ति शिविरमार्फत श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर कार्यक्रम सञ्चालन गरिएको दूतावासले जनाएको छ । सो शिविरमा तीन सयभन्दा बढी नेपालीलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयमा अद्यावधिक जानकारी गराइएको थियो ।
कार्यक्रममा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतावास, युएईबाटनै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरतालगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको छ ।
उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहनुभएका दुई सय १६ जना नेपालीको राहदानी नवीकरण गरिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।




0 comment