काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा विधेयक पास गर्न सरकार र संसद्लाई दबाब दिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनका केन्द्रीय समितिद्वारा संयुक्त रुपमा भक्तपुरमा आयोजित कार्यक्रममा महरले २०२८ सालदेखि शिक्षाको विकासका लागि नयाँ ऐन ल्याउन नसकिएको बताउँदै शिक्षा विधेयक पास गर्न दबाबको खाँचो रहेको औंल्याएका हुन् ।
‘विश्वले चेतना र प्रविधिका हिसाबले योबीचमा ठूलो फड्को मारेको छ । तर, हामी ऐनकै विषयमा अल्झिएका छौं । यसपटक पनि विधेयक पास गर्न सांसदहरूले खुट्टा लर्खाराउनु हुने हो कि भन्ने आंशका बढेको छ । यस्तो अवस्थामा विधेयक पास गर्न संसद् र सरकारलाई ठुलो दबाब सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।
सरोकारवालासँग थप छलफल र अन्तर्क्रिया गरेर विधेयकमा सबैको सहभागिताको प्रत्याभूति दिलाउनसमेत आवश्यक रहेको महरले बताए । शिक्षकका वर्गीय सवाल, नि:शुल्क र गुणस्तरीय जीवन उपयोगी शिक्षाका लागि कांग्रेस शिक्षक सँगसँगै रहेको उनको भनाइ छ ।
संसदको यसै हिउँदे अधिवेशनबाट आफ्ना माग समेटेर शिक्षा ऐन पास हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनप्रति लक्षित गर्दै नेता महरले आज संसारभरी अधिकारका लागि संघर्ष भएका तर कर्तव्य पालनाका लागि कमै मात्र संघर्ष देखिनु विडम्बना भएको टिप्पणी गरेका छन् । उनले अबको संघर्ष अधिकार र कर्तव्यको संयोजनतर्फ अगाडि बढाउनुपर्ने बताए ।


0 comment