काठमाडौं - बैंक तथा फाइनान्स कम्पनीहरुमा कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ संस्थाको कर्मचारीको तलब भत्तामै ३२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।
बैंक तथा फाइनान्स कम्पनीहरुको गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको यस्तो खर्च रकम ३० अर्ब ५१ करोड १० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कर्मचारीहरुको तलब भत्ताका लागि २८ अर्ब ४७ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल कर्मचारी खर्च रकम २६ अर्ब ८४ करोड ६० लाख रुपैयाँ थियो ।
विकास बैंकहरुले भने चालु आवको पछिल्लो ६ महिनामा कर्मचारीहरुको तलब भत्ताका लागि कुल तीन अर्ब आठ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारीहरुको तलब भत्ताकै लागि कुल दुई अर्ब ९४ करोड १० लाख रुपैयाँ खर्च गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो ६ महिनामा कर्मचारीहरुको तलब भत्ताका लागि कुल ७९ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा सात करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ताकै लागि कुल ७२ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।


0 comment