काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन् ।
विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताएका हुन् । ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा शुक्रबार सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको दाबी गरे ।
उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्नसमेत गरे । ‘केही मान्छेले हिजो मसँगै बसेर कानुनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसद्मा भएका पार्टीहरु खासगरी माओवादीलगायत पार्टीहरुले हिजो हामीसँगै बसेर कानुनको मस्यौदा बनाएका हुन्,’ उनले भने, ‘अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला ? जे पनि होइन ठीक कुरा बोल्नुपर्छ ।’
उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको दाबी गरे । आफूले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पुर्याएको ओलीले दाबीसमेत गरे ।


0 comment