काठमाडौं - पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै  दाहालले भने, ‘संविधान निर्माणका बेला नै हामीले केही रिजर्भेसन राखेका छौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर कसका लागि, कसको पक्षमा ? यो महत्त्वपूर्ण प्रश्न  हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’

भेलामा  दाहालले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिए । ‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ । उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु- उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ,’ उनले भने, ‘जनतालाई मेरो अपिल छ- तपाईंहरू एकताबद्ध हुनुस् । आफ्नो तागत देखाउनुस् ।’

भेलामा अध्यक्ष दाहालले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । उनले भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ । यसमा दह्रोसँग उभिन्छौँ ।’

जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप हो : गुरुङ
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताए । ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ । यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ,’ उनले भने, ‘उत्पादन सम्बन्धका आधारमै जाति निर्माण हुन्छ । राष्ट्रियता अन्तत: सामाजिक सम्बन्धको स्वरूप नै हो । यसलाई अलग-अलग रूपमा बुझ्नु हुँदैन ।’

‘निजी सम्पत्तिको उत्पत्तिपूर्व वर्गीय विभाजन थिएन । त्यो समाजमा जातीय विभेद थिएन’ उनले भने, ‘राष्ट्रियता र समाजवादी क्रान्ति एक-अर्कासँग निर्भर छन् । समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन् छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ । यो बुझाइमा हामी स्पष्ट हुन जरूरी छ ।’

यस्तै भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्र स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन् । ‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ । माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन् । आज जनयुद्धका उपलब्धि खोस्ने कुचेष्टा भइरहेको छ । त्यसका विरूद्ध निरन्तर संघर्ष जरुरी छ । यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ,’ उनले भनिन् ।