काठमाडौं - कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुनुपर्ने बताएका छन्।नेपाल प्रेस युनियन सुर्खेतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आम निर्वाचनअघि नगरे पार्टी झन नाजुक हुने बताएका हुन्।  

पार्टीको महाधिवेशनको अवधि २०८२ मङ्सिरमा सकिने र संविधानले दिएअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूले भनिरहेको उनको भनाइ छ।

चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै कोइरालाले आफूले पनि पार्टीमा त्यही कुरा राखिरहेको बताए। उनले अबको महानिधवेशनमा पनि आफूले सभापतिको पदको उम्मेदवारी दिने सुनाए।  

सातबुँदे सहमतिअनुसार कांग्रेस र एमालेले सरकार गठन गरे पनि त्यो अनुसार काम हुन नसक्दा आफूले कांग्रेस सरकारमा सहभागी भए पनि खबरदारी गरिरहेको बताए।

अमेरिकाले नेपालललाई यूएसडमार्फत दिने रकम ठगी हो भनेर रोकेकोप्रति उनले अब नेपाल सरकारले पनि आफूलाई सतर्क बनाएर काम गर्नुपर्ने सुझाव दिए।

शिक्षा र स्वास्थ्यमा यूएसएडमार्फत आएको सहयोग राम्रो भए पनि अन्य क्षेत्रमा आउने सहयोगबारे नेपाल सरकारले  पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।