काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् ।

मन्त्री डा. देउवाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग बुधबार लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने विषयमा टेलिफोन संवाद गरेकी हुन् ।

मन्त्री देउवाले नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि समेत आग्रह गरिन् ।

त्यस क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।

साथै उनले घर गएका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको पनि मन्त्री डा. देउवालाई जानकारी गराएका थिए ।

यस घटनाबारे परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् । कलेजले नेपाली विद्यार्थीहरुसँग सार्जजनिक रुपमा माफी माग्नुका साथै विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ ।