भारतको ओडिसामा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि न्यायको माग गर्दै प्रदर्शन गरेको प्रकरणमा कलेज प्रशासनले दमन गरेको छ। बुटवलकी निवासी लम्साल भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।
शवको गम्भीर अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई उल्टै कलेज प्रशासनले निकालेको जानकारी प्राप्त भएको छ। यस घटनाले ओडिसामा रहेका नेपाली विद्यार्थीहरुमा आक्रोश फैलाएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे बोल्न खोज्दा सभामुखले समय दिएनन् ।
प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनासाथ सांसद श्रेष्ठले आकस्मिक समय माग गरेकी थिइन् । सभामुख घिमिरेले संसदीय मूल्य मान्यता अनुसार बोल्नका लागि अगाडि नै नाम टिपाउने परिपाटी रहेको स्मरण गराएपछि उनी चुप लागेर बस्न बाध्य भइन् ।
सांसद श्रेष्ठको सचिवालयका अनुसार उनले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु प्रकरण र कलेज प्रशासनले नेपाली विद्यार्थीलाई निकालेकोबारेमा ध्यानाकर्षण गराउन चाहेकी थिइन् ।



0 comment