काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको सम्पति शुद्धीकरण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै उनले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पति आर्जन गरेको आरोप लगाए ।
उनले वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत गरे । उनले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार भएपनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताए ।
‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ । तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनैपनि थिएन उनले भने, ‘जेल बसेर बाहिर आएको केही महिनामै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । त्यसको छानबिन गर्नुपर्दैन ? हाम्रो नगर भनेकै छैनौं हामीले तर सुशासनको अभ्यास सबैतिर गरौं । होइन नगर्ने भए केही दिनको लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुस् कृपया । त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरु जेल बस्नुभएको छ ।’
संसद संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराए ।
0 comment