काठमाडौं - गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारसम्बन्धी उत्पन्न विवाद वार्ता र सहमतिबाट नै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

गृह मन्त्रालयमा सोमबार साँझ आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँग भएको छलफलमा उनले आपसी सहमतिबाट मात्र समाधान सम्भव भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने बताए। मन्त्री लेखकले समस्या शान्तिपूर्ण रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

यसअघि, गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीच हिजो भएको छलफल निष्कर्षविहीन भएपछि सोमबार गृहमन्त्रीसँग थप छलफल गरिएको हो।

भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरू तथा अन्य सरोकारवाला पक्षको सहभागिता रहेको थियो। गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृहमन्त्री लेखकले सबै पक्षलाई वार्ता र सहमतिबाट नै निकास खोज्न आग्रह गरे।

"सोमबार साँझ आन्दोलनरत पक्षका प्रतिनिधिहरू गृहमन्त्रीज्यूलाई भेट्न पुगेका थिए। गृहमन्त्री लेखकले वार्ता नै समस्याको एकमात्र उपाय भएको भन्दै सहमतिका लागि पहल गर्न आह्वान गरे ।

छलफलका क्रममा आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेको समेत मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। सरकारले यस विषयलाई गम्भीर रूपमा लिएको भन्दै गृहमन्त्री लेखकले वार्ताका माध्यमबाट समस्याको दिगो समाधान खोज्न सबै पक्षसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे।