काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाएका छन् ।

सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा  उनले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको बताएका हुन् ।

‘ट्रम्पले हामी वार्ता गर्न चाहन्छौँ भन्ने तर इरानी क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गरेका छन्,’ ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनर्स्थापना गरेको उल्लेख गर्दै पेजेस्कियनले भने।

‘हामी युद्धको खोजीमा छैनौँ, उनले भने, ‘तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ।’ अमेरिका र इजरायल विरोधी नारा लगाउँदै सोमबार बिहान दक्षिणमा शिराज र बन्दर अब्बास, उत्तरमा रास्ट, पश्चिममा केरमानशाह र सान्दाज तथा पूर्वमा पवित्र शहर मशादको सडकमा भीड जम्मा भएको टेलिभिजनमा प्रसारित श्रब्यदृश्यमा देखाइएको छ ।

कार्यक्रममा सहभागी हरूले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर, इरानको हरियो, रातो र सेतो झण्डाका साथै तेहरान समर्थित हिजबुल्लाहजस्ता समूहहरूको ब्यानर बोकेका थिए।

सन् २०२१ मा समाप्त भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरुद्ध ‘अधिकतम दबाब’ को नीति लिएका थिए । ट्रम्पको प्रतिबन्धको घोषणापछि हालैका दिनहरूमा इरानी अधिकारीहरूले नागरिकहरूलाई ठूलो सङ्ख्यामा उत्सवमा भाग लिन आग्रह गरेका थिए।