काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन् ।

सोनाम ल्होसारको अवसरमा शंकरापुर नगरपालिका ४ मा आयोजित कार्यक्रममा उनले राजनीति स्थिरता नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्माणको काम पनि नहुने धारणा राखे । उनले आवश्यकता बोध गरेरै अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको प्रस्ट्याए ।

‘वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो । अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभई नहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौं । राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ,’ उनले भने, ‘चुनावमा भिन्न दलको फरक एजेन्डा हुनसक्छ । तर, परिणाम आइसकेपछि विकास निर्माणको काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ ।’ उनले अहिले आफू देशभर जाँदा विकासका काममा राजनीतिक दलहरू मिलेर अघि बढ्ने राजनीतिक संस्कार देखेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिकार भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए । धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने उनको भनाइ छ ।

सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुसी साटासाट गर्न महत्त्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश भए पनि सबैको पहिचान, भाषा, संस्कृति, पहिचानको सहअस्तित्व स्विकार्ने नेपाली समाजको सुन्दरता भन्दै यसलाई जोगाउनुपर्नेमा जोड दिए ।