काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले सो प्रस्ताव अघि सारेका हुन् ।आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।
आइतबार साँझ र सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले उही प्रस्ताव दोहोर्याएको प्रवक्ता कृष्ण शर्माले बताए । भट्टराईले नेतृत्व हस्तान्तरण गरे वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताइरहे पनि उनलाई नै अध्यक्ष बनाउन जोड गरिरहेका छन् ।
अहिले परिस्थिति त्यस्तो नरहेकोले भट्टराईलाई नै अध्यक्षमा दोहोर्याउन सहमत गराएको शर्माले बताए ।पूर्व विद्यार्थी नेता नेत्र चापागाईंले भने अध्यक्षमा आफ्नो दाबी नछाड्ने बताएका छन् । अध्यक्षमा डा. भट्टराईको उम्मेदवारी पर्दा मेरो पनि दाबी रहन्छ,’ चापागाईंले भने ।महाधिवेशनमा प्रस्तुत ३२ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि भट्टराईले नयाँ शक्तिहरूबीच एकता र सहकार्यको प्रस्ताव गरेका छन् ।
२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एकपछि अर्को नयाँ र वैकल्पिक शक्तिहरू आउनुलाई सकारात्मक भनेका छन् ।पटक-पटक सत्ताको नेतृत्व गरेको कांग्रेसबाट नयाँ कार्यभार पूरा हुन नसक्ने उनको निष्कर्ष छ । यस्तै भट्टराईले एमाले-माओवादीलाई एकै ठाउँमा राखेर दुई दलबीच तात्विक अन्तर नभएको विश्लेषण गरेका छन् ।
७ वटा समूहमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा छलफलपछि आज रिपोर्टिङको एजेन्डा रहेको छ ।महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष सँगै ९९ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ ।


0 comment