काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले लडाकु शिविरमा भएको भनिएको अनियमितता र शेरा दरबार प्रकरण छानबिन गर्न माग गरेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको आइतबार उद्घाटन गर्दै पुनले यस्तो माग गरेका हुन् । आफूहरुबाट गल्ती भएको भए भोग्न तयार रहेको पनि उनको भनाइ छ । पुनले प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न उठेका गिरीबन्धु टी-स्टेट, यति, ओम्नी, स्विस बैंक र कम्बोडियामा लगानी प्रकरणबारे पनि छानबिन हुनुपर्ने औंल्याए ।

‘हाम्रो अध्यक्ष प्रचण्डले यदि मेरो पार्टी, मेरो कार्यकर्ता वा मैतिर पनि सुईहरु सोझिन्छन् भने अनुसन्धान गर्ने निकायलाई निर्देशन गर्नुभयो । नेपालको इतिहासमा सार्वजनिक रुपमा यस्तो अपिल गर्ने उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । शेरा दरबार, क्यान्टोनमेन्टबारे छानबिन गर्नुहोस् । माओवादी नेतामाथि प्रश्न उठेका प्रकरणबारे छानबिन गर्नुस् । स्विस बैंक, कम्बोडिया, गिरीबन्धु, यति र ओम्नीका विषयमा कुरा उठेका छन् । हाम्रो अध्यादेशले संसदमै जनताका तर्फबाट च्यालेन्ज गर्नुभएको छ । ओलीजीले आफूबारे उठेका प्रश्नहरुका बारेमा छानबिन गर्न तयार हुनुहुन्छ ? हामी ज्यान हत्केलामा राखेर गणतन्त्रका लागि लडेका हौं । अहिले पनि हामी जाखिम मोल्न तयार छौं । हामी आफ्नाबारे केही उठ्छन भने आफैं शुद्धीकरण गर्न तयार छौं । तपाईंहरु तयार हो कि होइन ?’

व्यवस्थाको सर्भिसिङ गर्ने क्रममा मुलुक विकासको ठुलो बाधकका रुपमा रहेको भ्रष्टाचार, राज्य दोहन र अनियमितता रोक्न कदम चालेका कारण बिचौलिया र स्वार्थ समूहले रातारात सरकार ढालेको उनले दोहोर्‍याए । यद्यपि बिचौलियाहरुको खुसी अब धेरै दिन नटिक्ने उनको भनाइ थियो ।

नेता पुनले ०४६ यता प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, उच्च प्रशासक, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सबैको सम्पत्ति छानबिन गर्न शक्तिाली छानबिन आयोग गठनको प्रस्ताव गरे । वर्तमान सरकारले विपक्षी दलका नेता र आफू निकटकलाई छानबिन, अभियोजन र मुद्दा दर्तामा फरक मापदण्ड अपनाएको टिप्पणी उनले गरे ।

‘एमालेका मन्त्री मानवतस्करको खर्चमा उनीहरुको डिजाइनमा जापान जान्छन् । जापानले शंका गरेर पठाउँछ । उनीसँगै गएर ठगिएका युवालाई थुनिन्छ । लाने मन्त्रीमाथि कारबाही हुँदैन पोखराको सहकारीमा ऋण लिएका एमालेका सांसदलाई सरकारी साक्षी बनाइन्छ । विपक्षी दलका नेता मुद्दाको भागिदार हुन्छन् । काठमाडौंको सहकारीमा कांग्रेसका सांसदमाथि प्रहरीले मुद्दा चलाउन सिफारिस गर्दा पनि 
सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्छन् । फरार भनिएकी लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीलाई एकै दिनमा बयान, एकैदिन थुनछेक बहस, उही दिन धरौटीमा रिहा गरिन्छ । त्यस्तै मुद्दामा विपक्षी दलका नेतालाई देशभर घुमाइन्छ, हुर्मत लिइन्छ,’ पुनले भने ।