काठमाडौं - नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउने दाबी गरेका छन् ।  

अनेरास्ववियू क्रान्तिकारीको निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले ०६४ मा जस्तै देशव्यापी लहर आएको अब कसैले रोक्न नसक्ने दाबी गरे । 

अध्यक्ष प्रचण्डले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए । यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गरे। सिंगै देशको ध्यान अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा केन्द्रित भएको उल्लेख गर्दै दाहालले यसले संगठको पहिचान थप उँचो बनाएको बताए ।

दाहाल ‘प्रचण्ड’ले अनेरास्ववियू (क्रान्तिकारी)को चुनावले विद्यार्थी नहुने तर नेता हुने स्थितिको अन्त्य गरेको पनि बताए  ।

‘उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुङ्गो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुङ्गो लगाउनु महत्वपूर्ण अभ्यास हो, अध्यक्ष दाहालले भने, अहिले आएको परिणामले मिलेर अघि बढ्ने र सङ्गठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।’

त्यस अवसरमा निवर्तमान अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष विजयप्रकाश शर्मा सापकोटालाई कार्यभार हस्तान्तरण गरिन् ।  यही माघ १२ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय पदाधिकारी, केन्द्रीय सचिवालय, केन्द्रीय सदस्य एवं केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य निर्वाचित भएका थिए ।