काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखे ।
उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौं,’ उनले भने, ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं । यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’
जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई विरोधीले अपत्याएको स्मरण गर्दै अध्यक्ष दाहालले स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिका रुपमा स्थापित हुन सफल भएको बताए । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाल्यो,’ उनले भने, ‘तर अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने संकल्प गरेका छौं । यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको संकल्प हो ।’
शान्तिसम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरु बढी नै दायाँतिर ढल्कन थालेको यथार्थबोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको उनले स्पष्ट गरे । जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष दाहालले भने, ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं- अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरुसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नोअनुकूलको गणतन्त्र बनाउने प्रयास गर्नेछन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्नेछौं । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं ।’
शान्तिप्रक्रिया र संविधान लेखन हुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिएको उल्लेख गर्दै उनले अब पार्टी सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने बताए । जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्तिसम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणाजस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादी मात्रै एक मात्र शक्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने बताए । यद्यपि यसका लागि माओवादी नेता कार्यकर्ताहरुको रुपान्तरणको विकल्प नभएको उनले स्पष्ट गरे ।
‘अब भाषण गरेर प्रशिक्षण दिएर मात्रै रुपान्तरण सम्भव हुने देखिएन,’ उनले भने, ‘त्यसैले यो काम अब नेतृत्वबाटै सुरु गर्नुपर्छ भनेर म पूरै आत्मसमीक्षासहित देशभरि नेता कार्यकर्ता र जनताको बीचमा पुग्ने अभियानको थालनी गरेको छु । मैले एक चरण यो अभियान पूरा गरेपछि अब लगत्तै सिंगो पार्टी एकैसाथ देशभरि परिचालित हुनेछ । रुपान्तरणको नयाँ अभियान अघि बढ्नेछ ।’
समाजवादी क्रान्तिकै लक्ष्यसहित आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको मूल बाटो तय गर्दै भ्रष्टाचारविरुद्धको महाअभियान सुरु गरेको उनले स्पष्ट गरे । ‘म आज तपाईंहरुलाई आत्मविश्वासका साथ भन्न सक्ने अवस्थामा उभिएको छु, हामीले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नै समाजवाद निर्माणको भ्रुण थियो,’ अध्यक्ष दाहालले भने, ‘हामीलाई कांग्रेस एमालेभन्दा फरक हो भनेर जनताले सजिलो गरी बुझ्ने अभियान पनि यही हो र पार्टीको अबको बाटो पनि यही हो ।’
यही संकल्प नै अहिले जनतामा आशाको दियो बाल्ने, पार्टी पुनर्निर्माण गर्ने र नेता कार्यकर्ताहरुमा रुपान्तरणको आत्मविश्वास बढाउने प्रारम्भिक विन्दुका रुपमा स्थापित हुन पुगेको उनले बताए । ‘हामी प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको नेता पार्टी माओवादीलाई बनाउँछौं, तपाईंहरु हरेक क्षेत्रमा देखिने बेथिति र भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुस्,’ कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘हामी सबै नेता/कार्यकर्ताहरु रुपान्तरण भएर जनताको बीचमा जाऔं, फेरि पनि जनताको एकताको तागतको बलमा हामी विजयी हुन्छौं ।’
दलाल र बिचौलियाहरुको घेरामा परेपछि क्रान्तिकारी नैतिकता हराउने उल्लेख गर्दै उनले क्रान्तिको एक मात्र सर्त इमान र जनताप्रतिको समर्पणभाव भएकाले यसमा कुनै पनि तहका नेता कार्यकर्ताहरुले दायाँबायाँ गर्न नहुने बताए ।


0 comment