काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आमनागरिक निरुत्साहित भइरहेको बताइन् । ‘यदि सरकारले साँच्चै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै निःशुल्क भुक्तानीको विकास गर्न आवश्यक छ,’ उनले भनिन्, ‘त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ । हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन नि:शुल्क बनाउन आजैबाट काम सुरु गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएसलगायत डिजिटल भुक्तानी सेवा प्रयोग गरेबापत सेवाशुल्क बढेको छ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक फन्ड ट्रान्सफरमा प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म मात्रै शुल्क लिने पाउने व्यवस्था गरेको छ ।


0 comment