काठमाडौं - पर्यटनको राजधानी पोखरा र व्यापारिक केन्द्र बुटवललाई जोड्ने सिद्धार्थ राजमार्गको स्तर उन्नतिको अनुसन्धान सुरु भएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा शुक्रबार नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि अध्ययन अनुसन्धान थालेकामा सरकारलाई धन्यवाद दिएका थिए । ‘सिद्धार्थ राजमार्गलाई डेलिकेटेड डबल लाइन बनाउन सरकारले थालेको अध्ययन अनुसन्धानलाई धन्यवाद दिन चाहन्छु ।’

स्याङ्जाको लाइफलाइनका रुपमा रहेको राजमार्ग गुरुङको निर्वाचनको मुख्य एजेन्डाका रूपमा समेत थियो । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङले आफ्नो कार्यकालमा सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत गर्दै आएका छन् ।

पहाड र तराईलाई जोड्ने राजमार्गका रूपमा चिनिने सिद्धार्थ राजमार्ग भारतीय पर्यटक पोखरा आवातजावतका लागि समेतले अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ ।

साथै उनले स्याङ्जाको गल्याङ नगरपालिका ३ को तल्लो गल्याङमा बाँध बस्ने गरी तयारी थालिएको आँधीखोला हाइ-ड्यामको योजना छिटो सञ्चालन गर्न आग्रहसमेत गरेका छन् । उनले भने, ‘स्याङ्जाको समग्र पर्यटन विकाससँग सिधा साइनो रहेको र देशको आर्थिक वृद्धिमा समेत ठुलो टेवा पुर्याउने उक्त योजना छिटोभन्दा छिटो सुरु गर्न आग्रह गर्दछु ।’