काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन् । के गर्दा ठुलो कुरा हुने यहाँ ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले भने, ‘तपाईं-हामीले होहल्ला गर्ने पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्यो नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि ।’
उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो ? भन्दै प्रश्न पनि गरे । उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठन्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे । त्यस्तै उनले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउन अध्यादेश ल्याइएको पनि प्रस्ट्याए ।
फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने धारणा राखे । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे । उनले काठमाडौं क्षेत्र नम्बर १ बाट आफूले संसद्मा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको दाबी पनि गरे । उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउन काम गर्नुपर्नेमा जोड दिए ।
वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे ।


0 comment