काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरि सरकारले काम गरिरहेको बताएका छन् ।

कोशी प्रदेशबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग बुधबार मन्त्रालयमा आयोजित छलफलमा उनले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरि काम गरिरहेको बताएका हुन् ।

“सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यो  लक्ष्य पूरा गर्न सरकारलाई तपाई (सांसदहरू) को महत्वपूर्ण सहयोगको खाँचो छ”, मन्त्री खड्काले भने । 

उत्पादित विद्युत्को बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गर्दै उनले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरे पनि प्रतिफल शून्य रहेको अवस्था हुन नदिन चाँडो आयोजना अगाडि बढाइने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले ऊर्जा र सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए ।

पूर्वमन्त्री योगेश भट्टराईले ऊर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताएका थिए । उनले विद्युत् आयोजनाको प्रतिफल स्थानीय जनताले पाउनेगरी योजना बनाउनुपर्ने भन्दै कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा राखे ।

पूर्वमन्त्री सीता गुरुङले ऊर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकासका लागि सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । उनले बर्सातको समयमा बाढीका कारण तराई क्षेत्रमा हुने समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिए ।

छलफलमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूति हुने खालका ऊर्जा र सिँचाइका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन् ।