काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् ।

बेनी नगरपालिका- ४ सिङ्गा र तातोपानीमा आज बिहान आयोजित कार्यक्रममा उनले भौतिक पूर्वाधार र पर्यटन विकासले म्याग्दीको उन्नति हुने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी-दरवाङ, बेनी-जोमसोम-कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे । 

उनले बेनी-दरवाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका- ४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले सिङ्गा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए । 

साथै अध्यक्ष प्रचण्डले बेनी नगरपालिका- ४ ठूलोखोला, सिङ्गा, बेनीमा सहिद परिवारसँग भेटघाट र साक्षात्कार गरेका छन् ।

सिङ्गामा स्थानीय किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए ।

जवाफमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि सात अर्ब बजेट विनियोजन गरेको जनाउदै त्यसको कार्यान्वयनको अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।