भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्कदै गरेकी गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

भारतको मुजफ्फरमा शनिबार साँझ भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको धनुषा प्रहरीका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र गाडी चालक रहेका छन् । गाडी चालकको परिचय खुल्न सकेको छैन ।

मृतक सबैजना एकैपरिवारका सदस्य हुन् ।

बी आर३२पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो ।

 दुर्घटनामा सिकिस्त घाइते हुने चार जनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी  रहेका छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो एक मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई पल्टेको थियो । 

दुर्घटनाका बेला स्कारपियोको गति करिब सय किलोमिटर प्रतिघण्टा रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।